काठमाडौं । पूर्वराजा आज पोखराबाट काठमाडौं आउने अवसरमा राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौं आउन लागेका हुन् ।
यसै अवसरमा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौंमा संयुक्त रूपमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।
फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश सङ्कटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन् ।
पूर्वराजाको अपीलले राजवादीहरू हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरू पनि तरंगित हुँदै पूर्वराजालाई चेतावनी दिइरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् ।