काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार अपराह्न काठमाडौं आइपुगेपछि त्रिभुवन विमानस्थलबाहिर निस्कँदा हजारौँ समर्थकहरूले भव्य रूपमा स्वागत गरेका छन्।
विमानस्काथलबाट बाहिर निस्कने क्रममा उनलाई हजारौँ समर्थकहरूले स्वागत गर्दै उनको गाडी अगाडि बढाइरहेका छन्। राजा समिट एयरको चार्टर्ड विमानबाट काठमाडौं आइपुगेका हुन्।
राजसंस्था समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, राजा आऊ देश बचाऊजस्ता नाराहरू लगाएका थिए।काठमाडौंस्थित त्रिभुवन विमानस्थल उत्रिएपछि उनले विमानस्थलको अति विशिष्ट कक्षमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, अन्य नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र अर्का नेता कमल थापालगायतसँग छलफल गरेका थिए।
पूर्वराजा शाहको स्वागतका लागि विमानस्थल बाहिर हजारौँको संख्यामा उनका समर्थकहरू भेला भएका छन्। उनीहरूले पूर्वराजा शाहलाई र्याली, झाँकी र बाजागाजासहित निर्मल निवाससम्म लैजाने कार्यक्रम रहेको राप्रपाले जानकारी दिएको छ।
बिहानैदेखि राजसंस्थाका समर्थकहरू विमानस्थल वरपर जम्मा भएका हुन्। उनको स्वागत गर्नका विमानस्थलवरिपरि पुग्न राप्रपा र अन्य राजा समर्थकहरूले पनि सर्वसाधारणहरूलाई आह्वान गरेका थिए।