काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-१३ हवाई फिल्ड छेउ बस्ने लिला श्रेष्ठको गोठमा शनिबार दिउँसो आगलागी हुँदा करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगो फैलिएर नजिकै रहेको गौतम राईको भान्सा कोठामा समेत आगलागी हुँदा लत्ताकपडा, अन्नपात, डिस होम लगायतका सामान जलेर करिब २ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुनसरी, गढी गाउँपालिका-४ डिगिया टोल बस्ने मिश्रीलाल ऋषिदेव (मुसाहर) को घरमा शनिबार बेलुकी आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन र फर्निचर लगायतका सामानहरू जलेर करिब १ लाख ३२ हजार ९ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । रौतहट, देवाही गोनाही नगरपालिका-९ धरहरीस्थित इशा महमदको घरमा शनिबार राति आगलागी हुँदा विभिन्न सरसामान जलेर करिब ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरी, डाक्नेश्वरी नगरपालिका-७ ललितपुर टोल बस्ने सत्रुधण मण्डलको घरमा शनिबार राति लागेको आगो फैलिएर नजिकै रहेको गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ८ लाख ७८ हजार रूपैयाँ बराबरको धमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।