काठमाडौं । आजबाट कथानक चलचित्र ‘होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ । सशान कँडेलद्वारा निर्देशित यो चलचित्रले देशभर २०० भन्दा बढी शो पाएको छ । हलहरूले बुधवारदेखि नै चलचित्रको अग्रिम बुकिङ खुल्ला गरेका थिए ।
‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करणहरू बक्स अफिसमा सफल भएका थिए। युवा पुस्तालाई लक्षित यो चलचित्रले नेपाली चलचित्रका मुख्य दर्शक वर्गलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ ।
यस कथानक चलचित्रमा प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।
माधव शर्माले चलचित्रको पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन् । चलचित्रका निर्मातामा सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी र सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला चलचित्रको कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।
अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस चलचित्रको सम्पादन विकास दाहालले गरेका छन् । चलचित्रमा हिमाल केसीको एक्सन निर्देशम, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, यम ओलीको प्रोडक्शन डिजाइन र प्रवीण सिंह र रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ।
चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन् ।