काठमाडौं । बर्दिया, ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँ बजारस्थित ३२ वर्षीया चन्द्रा गौतमको श्री घडी चश्मा तथा रेडियो मर्मत पसलमा विद्युत सर्ट भई बिहीबार राति आगलागी भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । महोत्तरी, बर्दिबास नगरपालिका-१४ तल्लो बजारस्थित सोही ठाउँ बस्ने सुवाष प्रसाद सुवेदीको धागो स्टोरमा करेन्ट सर्ट भई बिहीबार राति लागेको आगो फैलिएर सोही ठाउँस्थित टिकाराम परियार र ईश्वरी परियारको टेलर पसलहरूमा समेत आगलागी हुँदा करिब २५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्सा, धोबीनी गाउँपालिका-३ गुलरीया बस्ने जोखु पटेलको गोठमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१० बोसीगाउँस्थित आरएमबि प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा) गए राति आगलागी भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । झापा, भद्रपुर नगरपालिका-९ शान्तिचोक बस्ने जगन्नाथ ढकालको घरमा शुक्रबार बिहान आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सरसामान जलेर करिब ५ लाख १९ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।