काठमाडौं । काठमाडौं महानगरपालिका-१४ मकालु पेट्रोल पम्म नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७ ग्राम ८ सय ३० मिलिग्राम सहित नुवाकोट लिखु गाउँपालिका-३ पट्टाबारी घर भई काठमाडौं चोभार बस्ने २७ वर्षीय बिक्रम तामाङ समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर नगरपालिका-३ पुलचोकस्थित लुम्बिनी गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध नुर्फिन १६ एम्पुल, डाईजेपाम १२ एम्पुल, फेनारगन ९ एम्पुल, ट्रामाडोल ३ हजार ५ सय ट्याब्लेट, एनारगन ३ हजार ३ सय ८० ट्याब्लेट, ल्याप्टप १ थान, आई प्याड १ थान, मोवाईल ५ थान र नगद ४५ हजार ८ सय सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गेष्ट हाउसमा वेटर काम गर्ने पर्सा ठोरी गाउँपालिका-१ घर भएका १९ वर्षीय लोक बहादुर कुँवर, सोही गेष्ट हाउसमा कुकको काम गर्ने रत्ननगर नगरपालिका-१५ घर भई ३५ बर्षीय शुसन वाईवा र कालिका नगरपालिका-६ बस्ने ३५ वर्षीय राम बहादुर थिङ्ग रहेका छन् । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले गेष्ट हाउस तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-२ लन्डनब्रिजबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६८ एम्पुल, बुप्रेनोर्फिन ६८ एम्पुल र प्रोमेथाजाईन ६८ एम्पुल सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१० पितौजीटोल बस्ने ३१ वर्षीय शिव बहादुर थापा क्षेत्रीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २१ बस्ने सुशिल रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-२ बस्ने २५ वर्षीय राहुल शाही समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१- ०१२ प १८८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनुषा, नगराइन नगरपालिका-१ हांसपट्टी बस्ने २३ वर्षीय चन्दन कुमार साहलाई अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फुलगामाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।