काठमाडौं । राइस कुकर बनाउन बोलाएर हनी ट्रयापमा फसाउन खोजेको आरोपमा पक्राउ परेकी युवती धरौटीमा रिहा भएकी छिन् ।
चितवनको रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।
न्यायाधीश श्यामबिहारी मौर्यको सोमबारको इजलासले आचार्यलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
अदालतको आदेशपछि उनी ४५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दाका शाखाका डीएसपी हरि खतिवडाले बताए ।
आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर २४ माघमा सार्वजनिक गरेको थियो । त्यसपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाइएको थियो । परिसरले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाइएको थियो । सरकारी वकिल कार्यालयले उनीविरुद्ध आपराधिक लाभको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
आपराधिक लाभको कसुरमा अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएकी हुन् । उनले कुलेश्वरमा इलेक्ट्रिक सामानहरुको मर्मत गर्दै आएका आलम थरका एक पुरुषलाई राइस कुकर बनाउन आफ्नो कोठामा बोलाएर फसाउन खोजेको आरोप लागेको थियो ।
आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक–पटक मोबाइलमा सम्पर्क गरी आफ्नो कोठामा बोलाएको प्रहरीले बताएको थियो ।
कोठामा आइसकेपछि माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइ दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भन्दै धम्क्याएको आरोप छ । १० लाख रुपैयाँमा माग गरेकोमा पछि आलम थरका व्यक्तिले आचार्यलाई ३ लाखको चेक काटेर समेत दिएको प्रहरीको भनाइ थियो ।