काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन आजबाट सुरू भएकाे छ।
यही फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरु भक्तपुर आएका छन्।
महाधिवेशनको उदघाटन समारोह दिउँसो १ बजे सल्लाघारीमा हुनेछ।
आज बिहान १० बजेदेखि सुरु कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौंको कोटेश्वर, ताथलीलगायत ठाउँबाट झाँकीसहित निकालिने र्याली उदघाटन समारोहस्थल सल्लाघारी पुगेर सभामा परिणत भएकाे छ।
आजैबाट सुरु हुने बन्दसत्रले विभिन्न एजेन्डा पारित गर्दै नयाँ नेतृत्व समेत चयन गर्नेछ। नेमकिपा स्थापना भएदेखि नै पार्टी अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) छन्।
विजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो। नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो।
पार्टीको सातौं महाधिवेशनसम्म पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे नै सर्वसम्मत अध्यक्ष चुनिँदै आएका छन्। यस वर्षको आठौं महाधिवेशनले बिजुक्छेलाई नै निरन्तरता दिन्छ वा नयाँ नेतृत्व चुन्छ भन्ने चासो छ।