काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई विदेशी सहायता नरोक्न र पूरा भइसकेका कामहरुको भुक्तानी तत्काल गर्न अमेरिकाको एक संघीय अदालतले दिएको आदेशलाई अमेरिकाको सर्वोच्च अदालतले रोक लगाएको छ । प्रधानन्यायाधीश जोन रोबर्टसले तल्लो अदालतको आदेशमा रोक लगाउँदै राष्ट्रपतिलाई विदेशी सहायता रोक्ने अधिकार भएको जनाएका छन् ।
अमेरिकाको एक संघीय अदालतले यसअघि ट्रम्प प्रशासनलाई विदेशी सहायता नरोक्न भनेको थियो र बुधबार मध्यरातसम्ममा २ बिलियन विदेशी सहायता रकम जारी गर्न आदेश दिएको थियो । ट्रम्प सरकारले यति ठूलो रकम यति छोटो समयमा जारी गर्न नसक्ने जनाउँदै आएको थियो ।
संघीय अदालतको आदेशविरुद्ध ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा आपतकालीन अपील गरेको थियो । यो अपिलमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश रोबर्टले राष्ट्रपतिलाई विदेशी सहायताबारे पुनर्विचार गर्ने अधिकार भएको व्याख्या गर्दै तल्लो अदालतको आदेशले राष्ट्रपतिको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको जनाएका छन् ।
प्रधानन्यायाधीशले यो मुद्दामा अर्को सुनुवाइपछि सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी नहुँदासम्म ट्रम्प प्रशासनले सहायता रकम रोक्न सक्ने जनाएको छ । ट्रम्पको निर्णयको विरोध गर्ने पक्षलाई शुक्रबारसम्म आफ्नो जवाफ पेश गर्न पनि प्रधानन्यायाधीशले आदेश दिएका छन् ।