काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आफूहरुको एजेण्डा रहेको जनाएका छन् । आज (बुधबार) प्रेस सेन्टर नेपालले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा भ्रष्टाचार रोक्ने, सुशासन र स्थायित्व खोज्ने हो भने सिस्टम सुहाउँदै शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिने बताएका हुन् ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङलगायतका नाम लिँदै सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले उनीहरुलाई लोकतन्त्रको फूलको संज्ञा दिए । आफूलाई प्रत्यक्ष निर्वाचित कार्यकारी भएर उनीहरु आएपनि केही फरक नपर्ने उनले सुनाए ।
प्रचण्डले हर्क, बालेनलगायतका मानिसहरुलाई आफूले आफ्नै मान्छे ठानेको पनि बताए । ‘हर्क आएपनि फरक पर्दैन, बालेन आए पनि फरक पर्दैन । के बिग्रन्छ र ? मैले त उनीहरूलाई लोकतन्त्रको फूल भनेको छु ।’