काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. उदय शमशेर जबराले सहकारीको समस्याका कारण नेपाल ‘ग्रे लिस्ट’मा परेको जनाएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारी रहेको जिकिर गरे।
उनले सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको श्रोत नखोजिने कारण पनि यी समस्या बढेको जनाए।
उनले भने, ‘फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको छ। विशेष गरेर मनि लाउण्डरिङ र सम्पत्ति शुद्धीकरणको विषय केन्द्रित हो। नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारीको कारण हो।
सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको श्रोत कहाँबाट आयो भन्ने खोजिँदैन। त्यसैले अब यो सरकारले हाम्रो सहकारीलाई नियमन गर्नको निम्ति पनि क्षमता बढाउनुपरेको छ। अहिले हामीले नेपालमा बैंकलाई कसी कसी गर्ने र सहकारीलाई खुला गर्ने गर्दा पनि यो समस्या आएको हो।’