काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक प्रशासन २५औं समूहको तालिम आइतबारबाट संचालन भएको छ । सोही कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले तालिम उद्घाटन गर्दै तालिममा प्रशिक्षार्थीहरूले व्यवसायिक कामको बारेमा आवश्यक ज्ञान हासिल गर्न उत्साहित, इच्छुक, लगनशील र अनुशासित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले ३५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २४ जना र प्रहरी सहायक निरीक्षक २७ जना गरी जम्मा ५१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।