काठमाडौं । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले आज बलियो टिम म्यानमारसँग सामना गर्ने भएकाे छ । नेपालले साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिग चरणको अन्तिम खेल खेल्नेछ।
यो खेलले लिगको विजेता र उपविजेताको टुंगो लगाउनेछ। यसअघि नै २ खेलमा समान २ जितसहित नेपाल र म्यानमारले फाइनल भेट पक्का गरिसकेका छन्। प्रतियोगितामा नेपालले २ खेलमा २ गोल गर्दै हालसम्म गोल भने बेहोरेको छैन। म्यानमारले २ खेलमा ८ गोल गर्दै १ गोल खाएको छ।
नेपालका दुई फर्वाड सावित्रा भण्डारी र रेखा पौडेल विदेशी लिग खेलेलगत्तै राष्ट्रिय टिममा खेल्दा दुई बीचमा तालमेल मिल्न नसकेको साम्बाले जनाएकी थिइन्।
नेपालको लागि किर्गिस्तानविरुद्ध विमला चौधरीले गोल गरेकी थिइन् भने लेवनानलाई नेपालले सावित्राको गोलमा पराजित गरेको थियो।
म्यानमारको टिमको कुरा गर्ने हो भने यो टिम फिफा वरियतामा पनि नेपालभन्दा निकै माथि रहेको छ। नेपाल १०३ औं स्थानमा रहेको छ भने म्यानमार ५५ औं स्थानमा छ। मैदानमा नतिजाको हिसाबले पनि बलियो देखिएको यो टिमविरुद्ध नेपालले पहिलेको दुई खेलमा गरेको डिफेन्स र फिनिसिङमा गरेको गल्तीको छुट हुने छैन।
आजको खेलको नतिजाले फाइनलमा खासै अर्थ नराख्ने भएकाले नेपाली प्रशिक्षकले केही नयाँ खेलाडीलाई मौका पनि दिन सक्छन्। आजको खेलमा नेपालको टिममा रहेका मनमाया दमै, सुस्मा तामाङ, चन्द्रा भण्डारीलाई प्रशिक्षकले मैदानमा उर्तान सक्छन्। मिडफिल्डमा पनि सरु लिम्बुलाई रेनुकाको स्थानमा प्रतिस्थतपन गर्न सक्छन्। यो खेलले फाइनल अघि म्यानमारको टिम र रणनीती बुझ्ने नेपाललाई राम्रो मौका हुनेछ। आजको पहिलो खेल लेवनान र किर्गिस्तानबीच दिउँसो २ बजे दशरथ रंगशालामा हुनेछ।