काठमाडौं । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित कमाण्ड एण्ड स्टाफ कोर्स सि.सं.३१ का तालिमरत ६७ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।
अवलोकन भ्रमणमा सहभागी अधिकृतहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो ।
सो क्रममा सहभागी अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन, डाटा सेन्टर र प्रहरी सङ्ग्रहालय समेतको अवलोकन गर्नुभयो ।
अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक आचार्यले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजन लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उहाँले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहने बताउनुभयो ।
सो कार्यक्रममा सेनानी सुमन बिक्रम शाहले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।