-जानकी पाण्डे
भारतको एक विश्वविद्यालयमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि दमनको घटना सार्वजनिक भएको छ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट (केआईआईटी) विश्वविद्यालयमा बीटेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु भएको हो । रुपन्देही घर भएकी २० वर्षीया लम्साल गत आइतबार साँझ विश्वविद्यालयको होस्टलमा मृत भेटिएकी हुन् । साथै त्यहाँ अध्ययन गर्ने सयौं नेपाली विद्यार्थीमाथि कुटपिट, दुव्र्यवहार र दमन भएको पनि सार्वजनिक भएको छ ।
भारतको यो घटनाले फेरि एक पटक वैदेशिक शिक्षाको विषय र यसका समस्यालाई उजागर गरेको छ । नेपाली विद्यार्थीमाथि बंगलादेशमा हालै भएको राजनीतिक घटनाक्रममा समेत समस्या भएको हामीले बिर्सन मिल्दैन । तिनले रातारात त्यहाँबाट भागेर हिँड्नुपर्ने अवस्था आएको थियो । यस्ता घटनाले वैदेशिक शिक्षामा गएका हाम्रा विद्यार्थीको सुरक्षाको विषय टड्कारो रुपमा उठेको छ । साथै यो समस्याको समाधान नखोज्ने हो भने यसैगरी विभिन्न देशमा उच्च शिक्षाका लागि पुगेका नेपाली विद्यार्थीमाथि यसैगरी सुरक्षा जोखिमका घटना दोहोरिन सक्ने निश्चित छ ।
कलिंगा इन्स्टिच्यूटमा भएको के हो त ? पहिला यो घटना बुझौं । नेपाली विद्यार्थीका अनुसार केआईआईटीमै अध्ययनरत बुटवलकी ती छात्रालाई क्याम्पसकै होस्टलभित्र आइतवार दिउँसो ५ बजेतिर झुन्डिरहेको अवस्थामा फेला पारिएको थियो । अस्पताल पु¥याइँदासम्म उनको मृत्यु भइसकेको थियो । मृत्युको घटनापछि नेपाली विद्यार्थीहरूले सत्यतथ्य छानबिन गर्न माग गर्दै प्रदर्शन गर्न थाले । नेपाली विद्यार्थीहरूका अनुसार लम्सालमाथि भारतीय विद्यार्थी आद्धिक श्रीवास्तवले बारम्बार दुव्र्यवहार गर्ने गरेका थिए । असह्य भएपछि लम्सालले आत्महत्या गरेको उनीहरूको भनाइ छ ।
यसअघि लम्सालले समेत आफूमाथि दुव्र्यवहार भएको भन्दै श्रीवास्तवविरुद्ध विश्वविद्यालय प्रशासनमा उजुरी दिएकी थिइन् । तर, विश्वविद्यालय प्रशासनले उजुरीको सुनुवाइ नगरेको नेपाली विद्यार्थीको भनाइ छ । दुव्र्यवहार गर्ने भारतीय विद्यार्थीमाथि अनुसन्धान तथा कारबाहीको माग गर्दै उजुरी दिन गएका विद्यार्थीमाथि केआईआईटी प्रशासनले सुरक्षा गार्ड र बाउन्सर लगाएर दमन गरेको नेपाली विद्यार्थीले बताएका छन् । विद्यार्थीको प्रदर्शन चर्केपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई तत्काल छात्रावास छाड्न सूचना जारी गरेको थियो ।
५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई विश्वविद्यालयले भुवनेश्वर र कटक रेलवे स्टेसनमा ल्याएर छोडिदिएको थियो । नेपाली सीमातर्फ आउने रेल बिहीबार मात्र चल्ने भएकाले आफूहरू अलपत्र परेका थिए । केहीले भने आफैं व्यवस्था गरेर छात्रावासबाहिर बसेका थिए । केआईआईटीका रजिस्ट्रारले जारी गरेको सूचनामा नेपाली विद्यार्थीलाई अर्को सूचना नभएसम्मका लागि तत्काल छात्रावास छाड्न भनिएको थियो । नेपाल पक्षको चासो र चौतर्फी दबाबपछि विश्वविद्यालयले यो घटनामा माफी मागेको छ र नेपाली विद्यार्थीलाई होस्टलमा फर्किन आग्रह गरेको छ । भारतीय स्कुल तथा कलेजमा यस किसिमको घटना भएको यो पहिलो होइन ।
सन् २०१४ नोभेम्बर १४ मा नैनीतालस्थित सेरउड कलेजमा अध्ययनरत शान प्रजापतिको मृत्यु भएको थियो । त्यो घटनापछि छानबिनका निम्ति तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गर्नुपरेको थियो । ती विद्यार्थीको मृत्युमा जिम्मेवार ठहर गर्दै सन् २०२२ मा मात्र नैनीताल चिफ जस्टिस मेजिस्ट्रेट कोर्टले त्यहाँका प्रिन्सिपल र अन्य दुई जनालाई दोषी ठहर गरेको थियो । आठ वर्षपछि बल्ल परिवारले न्याय पाएको थियो । प्रकृति लम्सालको रहस्यमय मृत्युको यथोचित छानबिन गर्न र छिटै न्याय पाउने व्यवस्था गर्न नेपाल सरकारले सशक्त ढंगले कदम चाल्न आवश्यक छ ।
देशमै उच्च शिक्षाको उचित व्यवस्था नहुँदा धेरै नेपालीले भारतलाई आफ्नो शैक्षिक गन्तव्य बनाउँदै आएका छन् । भारतमा अध्ययन गर्न जाने विदेशी विद्यार्थीमा नेपाली विद्यार्थीको संख्या सबैभन्दा ठूलो छ । एक तथ्यांकअनुसार सन् २०२२ मात्र १३ हजारभन्दा बढी नेपाली विद्यार्थी भारतमा अध्ययनरत रहेको पाइन्छ । भारतीय विश्वविद्यालयहरूका निम्ति मात्र होइन, माध्यामिक तहको शिक्षाका निम्ति पनि नेपालीले आफ्ना सन्तानलाई त्यहाँ पठाउने गरेका छन् । भारतमा अध्ययन गर्न जानको सहजता, सांस्कृतिक, भाषिक तथा धार्मिक निकटताका कारण पनि त्यहाँ अध्ययन गर्न जाने नेपालीको संख्या धेरै रहेको हो ।
कुनै पनि देशमा अध्ययनका निम्ति विद्यार्थी जान दिने हो भने सरकारले तिनको सुरक्षा र शैक्षिक गुणस्तर सुनिश्चित गर्न ध्यान दिनुपर्छ । आफ्ना नागरिकमाथि ज्यादती हुन्छ भने सशक्त ढंगले विरोध गर्ने र विद्यार्थी पठाउँदै नपठाउने गरी सशक्त हुनु आवश्यक छ । कलिंगा घटनाले हामीलाई एउटा पाठ सिकाएको छ कि हामीले उच्च शिक्षाका लागि देशभित्रै उपयुक्त वातावरण किन तयार नगर्ने ? किन अन्य देशमा जस्तो नेपाललाई शैक्षिक हब नबनाउने ? नेपाली अन्य देशमा गएर पढ्नेभन्दा नेपालमा अन्य देशका विद्यार्थी आउने वातावरण तयार नगर्ने ? यसका लागि शिक्षाको गुणस्तर, पूर्वाधार विकास त छँदै छ समग्र देशको विकास पनि आवश्यक छ । जनधारणा साप्ताहिक


