काठमाडाैं । नेपालमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारले लगातार दोस्रो जित निकालेर उपाधी नजिक पुगेकाे छ ।
दोस्रो जित निकाल्नेक्रममा म्यानमारले बिहीबार किर्गिस्तानलाई ५–० ले हराउन सफल भयाे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानमारको जितमा यून वादी र मे एचटेट लुले समान दुई गोल गरे । एक गोल सन्दर लिनको नाममा रह्यो । पहिलो हाफमा चार गोलको अग्रता लिएको म्यानमारले दोस्रो हाफमा थप एक गोल गरेको हो ।
यो जितपछि म्यानमार अंक तालिकाको शीर्ष स्थानमा कायमै छ । र, उसले फाइनलको सम्भावना पनि बलियो बनाएको छ । म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ ले हराएको थियो । प्रतियोगितामा नेपाल एक खेलमा तीन अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ ।
नेपालले दोस्रो खेलमा बिहीबार साँझ ६ बजे लेबनानसँग खेल्ने तालिका छ । लेबनानलाई हराएमा नेपालले एक खेलअगावै फाइनलमा स्थान बनाउनेछ । पहिलो खेलमा नेपालले किर्गिस्तानविरुद्ध १–० को साँघुरो जित निकालेको थियो ।