काठमाडौं । सत्तारुढ एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओली सर्वेसर्वा छन् । प्रधानमन्त्रीसमेत रहेका उनको विरुद्धमा बोल्ने ताकत पार्टीका अन्य नेतामा देखिँदैन । यसको कारण हो, ओलीविरुद्ध अभिव्यक्ति राख्ने नेताहरु राजनीतिक अवसरबाट वञ्चित हुनु, पार्टीमा नै एक्लै पर्दै जानु । पार्टीमा आफूलाई चुनौती दिने नेता नहुँदा ओली अझै धेरै वर्ष पार्टीको नेतृत्व गर्ने मनसायमा छन् । जसलाई एक वर्षअघि
कास्की जिल्ला अधिवेशनको शपथग्रहण कार्यक्रममा उनले अभिव्यक्त समेत गरेका थिए ।
त्यतिबेला उनले भनेका थिए, ‘कतिलाई ओली नभइदिएको भए यसोउसो गर्न सकिन्थ्यो भन्ने लागेको होला, तर मेरो कपाल पलाउन थालेको छ । रोपेर पलाएको होइन, आफैं उम्रेको कपाल हो । जुँगा पनि काला हुँदै गएका छन् । त्यसैले २० वर्ष अरूले आश नगरे हुन्छ ।’ पछिल्लो समय पार्टीमा आफ्नो कट्टर आलोचक रहेका भीम रावललाई निष्कासन गर्नु र आफ्नो निर्णयको आलोचना गर्ने नेताहरुलाई कारबाहीस्वरुप स्पष्टीकरण सोध्नुले ओली नेतृत्व हस्तान्तरणभन्दा पार्टीमा आफूलाई झन् बलियो बनाउँदै लैजाने मनसायमा रहेको स्पष्ट हुन्छ ।
तर, उनलाई चुनौती दिनेगरी पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने भएकी छन् । जसले पार्टी राजनीति र सत्ता राजनीति धरापमा पर्ने देखिएको छ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ नेकपा माओवादी केन्द्रको राजनीतिमा फर्किएपछि भण्डारीलाई पनि राजनीतिमा फर्किन बाटो खुलेको विश्लेषण गर्न थालिएको छ । माओवादी केन्द्रको गत पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार पासाङ आर्थिक उत्पादन संयन्त्रको विशेष जिम्मेवारीमा फर्केका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले यही माघ २७ मा जारी गरेको आन्तरिक परिपत्रमा पुनलाई आर्थिक उत्पादन संयन्त्रको इन्चार्जका रूपमा पार्टीले विशेष जिम्मेवारी दिएको उल्लेख छ ।
सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति पुन सहभागी भएकोमा पूर्वराष्ट्रपति भण्डारीले खुसी लागेको बताएकी थिइन् । ‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ । राजनीति गरेर आउनु भएको हो । म राष्ट्रपति, उहाँ उपराष्ट्रपति भएर सात वर्ष सहकार्य गरेको हो । खुसी नै लागेको छ, मेरो शुभेच्छा छ’, पूर्वराष्ट्रपति भण्डारीले भनेकी थिइन् । तर त्यतिबेला उनले आफ्नो राजनीतिक सक्रियताबारे भने निर्णय गर्न बाँकी रहको जनाएकी थिइन् । ‘म नेकपा एमालेबाट हुर्किएकाले जाँदा त्यहाँ नै हो । तर छलफलको चरणमा प्रवेश गरेको छैन’, पूर्वराष्ट्रपति भण्डारीले भनेकी थिइन् । यद्यपि राष्ट्रिय राजनीतिमा आफू सक्रिय रहेको उनको भनाइ थियो । ‘राष्ट्रिय राजनीति नै गरेर यो तहसम्म जिम्मेवारी पूरा गरेको अवस्था हो’ भण्डारीले भनिन्, ‘नेपाललाई के गर्दा राम्रो हुन्छ भन्नेमा चासो भइहाल्छ नि ।’
पूर्वराष्ट्रपति भण्डारीले उक्त अभिव्यक्ति दिएयता सक्रिय राजनीतिमा फर्किने प्रयासलाई झनै तीव्रता दिएकी छन् । यसका लागि उनले विभिन्न जिल्लामा एमाले निकट नेता कार्यकर्तासँग भेटघाटलाई तीव्रता दिएकी हुन् । हालै मात्र एक साता लामो कोशी प्रदेश भ्रमण सकेर काठमाडौं फर्केकी छन् । त्यहाँ उनले एमालेका विभिन्न नेता तथा कार्यकर्ता औपचारिक अनौपचारिक रुपमा भेटघाट गरेकी छन् । नेपालको कानुनले पनि राष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किनलाई बन्देज लगाएको छैन । सोही कारण उनी पार्टी राजनीतिमा फर्किन सक्ने एमालेकी नेताहरुले बताएका छन् ।
भण्डारी स्वयंले गत असारमा एक सञ्चारमाध्यमसँगको कुराकानीमा सक्रिय राजनीतिमा फर्किने संकेत गरेकी थिइन् । ‘राष्ट्रपति भनेको संवैधानिक हिसाबले सर्वोच्च पद हो । त्यो ठाउँमा बसेर मैले जिम्मेवारी निर्वाह गरिसकेकाले अरू केही पदमा रहेर काम गर्नैपर्छ भन्ने त मेरो दिमागमा छैन । तर गर्नुपर्ने एजेन्डा त बाँकी छन् । अहिले कति कुरा राष्ट्रिय एजेन्डा छन् । कति अन्तर्राष्ट्रिय एजेन्डा छन् । त्यसमा काम गर्नुपर्छ,’ उनले भनेकी थिइन् । भण्डारी राजनीतिमा आएमा र एमालेको नेतृत्वमा पुग्न सके कम्युनिस्ट आन्दोलन ध्रुवीकरणको पनि सम्भावना छ ।
अहिले एमाले अध्यक्ष ओलीकै कारण वामपन्थी दलबीच सहकार्य हुन नसकेको अन्य दलका नेताको आरोप छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हालै मात्रा प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका थिए । उनले नेपालमा तत्काल कम्युनिस्ट एकता सम्भव नरहेको समेत जनाएका थिए । एमालेको नेतृत्व प्रतिस्पर्धाका लागि भण्डारी अघि आउन सके यसले वामपन्थी दलबीचको सहकार्यलाई पनि अघि बढाउने सम्भावना देखिएको हो । जनधारणा साप्ताहिक