दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरेका छन् । एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न आज कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलन बाट राजसंस्था हटाएर राजनीतिक आन्दोलन सफल भएपनि आजभोलि फेरी पञ्चायती भूत सलबलाउन थालेको बताए ।
´सामन्तवादी राज संस्था हटाएर राजनीतिक क्रान्ति मात्रै सफल भएको छ ।` पोखरेलले कार्यकर्तालाई भने-´अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुस् ।` महासचिव पोखरेलले पूर्ण क्रान्ति सफल बनाउन बलिया राजनीतिक शक्ति निर्माण गरिनुपर्ने जनाए ।
आफूले बलिया दुई राजनीतिक दलको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नु परेको भन्दै उनले आफू दल खोल्न निषेधको पक्षमा नभएको स्पष्ट पारे ।


