काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले भोगेको हन्डरले परिवर्तन भएको जनाउँदै नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने जनाएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन र प्रजातान्त्रिक व्यवस्थाको तुलना नै हुन नसक्ने जनाए ।
उनले अहिले देशमा समग्ररुपमा विकास भइरहेको जनाउँदै विकासोन्मुखबाट विकासशीलतिर अघि बढेको दाबी गरे ।
बढ्दो जनआकांक्षा र चुनौतीबीच पनि लय मिलाएर संगतीपूर्ण रुपमा सरकार अघि बढेको उनको धारणा छ । उनले योजनावद्ध विकासको सुरुआत भएको बताउँदै युवा पुस्तालाई ध्यानमा राखेर स्टार्टअपद्वारा उद्यमशीलताको थालनी गरिएको जनाए।
सेवालाई पारदर्शी र जवाफदेही बनाउँदै, असमानता र भ्रष्टाचार हटाउँदै डिजिटल माध्यमबाट जनतालाई शीघ्र सेवा दिने कामको सुरु गरिएको उनले जनाए। यसले गर्दा समग्ररुपमा जनताको जीवनमा प्रगति भएको उनको दाबी छ ।