काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले पढाइ सकिएकै वर्षमा प्रमाणपत्र उपलब्ध गराउन अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल आवेदन दिन मिल्ने गरी निर्देशन दिएकी छन् ।
मंगलबार त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका पदाधिकारीहरूबीच भएको बैठकमा शिक्षामन्त्री विद्या भट्टराईले यस्तो निर्देशन दिएकी हुन् ।
‘त्रिविको वार्षिक क्यालेण्डरलाई कडाइका साथ कार्यान्वयन गर्ने र यसका लागि आवश्यक परे जनशक्ति व्यवस्थापन गर्ने सहमति भएको छ । आंगिक क्याम्पसहरूलाई पनि अनिवार्य रूपमा क्यालेण्डर कार्यान्वयन गर्ने सहमति भएको छ,’ उनले भनिन्, ‘परीक्षाफल प्रकाशन र ट्रान्सक्रिप्ट वितरणलाई पनि समयमै गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छु।’
समकक्षताको प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन सफ्टवेयरहरूको एकीकरण गर्ने र आवश्यक परे जनशक्ति थप गर्ने साथै विद्यार्थीलाई सुविधाका लागि अनलाइनबाटै आवेदन दिन सकिने र कम समयमै प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाउन आवश्यक व्यवस्था गर्ने सहमति भएको छ ।
साथै परीक्षा सुधारका लागि उच्चस्तरीय समिति गठन गर्ने र उक्त समितिले विश्वविद्यालय अनुदान आयोगले गरेको लगानीको अवस्था अध्ययन गरी सुधारका लागि सुझाव दिने निर्णय भएको छ यसका साथै समितिले सफ्टवेयरको एकीकरणका विषयमा पनि राय दिनेछ ।



