खोटाङ । हलेसी बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । जिल्लास्थित तीनवटै सुरक्षा निकाय, स्थानीय सरकार र स्थानीयको प्रयासपछि करिब ४ घण्टापछि आगो नियन्त्रणमा आएको हो ।
हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा भएको आगलागी नियन्त्रणका लागि जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीय सरकार र स्थानीय खटिएका प्रमुख जिल्ला अधिकारी हिराधन राईले बताए । साँझ साढे ६ बजेतिर सुरु भएको आगलागी केही समय पहिले नियन्त्रणमा आएको हो ।
आगलागीबाट तीनवटा घरमा पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट पदम राई, प्रकाश गिरी र ऐराख राईको घरमा क्षति पुगेको हो । त्यस्तै अन्य साना टहरामा समेत क्षति पुगेको स्थानीयले जनाएका छन ।
खाना पकाउने क्रममा ग्यास चुहिएपछि आगलागी सुरु भएको थियो । ग्यास सिलिन्डर पसलसमेत भएको घरमा आगो निभाउन नसक्दा नजिकैका अन्य घरमा समेत आगो फैलिएको थियो । आगो निभाउन पानी अभाव हुँदा समस्या भएको थियो ।
आगलागीबाट करोडौँको क्षति भएको अनुमान लगाउन सकिएपनि यकिन विवरण भने आइनसकेको प्रजिअ राईले बताए । आगलागीबाट भौतिक क्षति भएपनि मानविय क्षति भने भएको छैन ।