काठमाडौं । सरकारले संसद्मा दर्ता गरेको ६ अध्यादेश पारित गर्ने विषयमा सत्तारुढ दलहरु निष्कर्षमा पुग्न सकेका छैनन्।
आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बसेको सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले अध्यादेश पारित गर्ने विषयमा समय निर्धारण गर्न सक्ने। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले संसद्मा विचाराधिन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको जनाए। तर कहिले पारित गर्ने भन्नेमा बैठकले निर्णय नगरेको उनले जानकारी गराए ।
यस्तै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि सत्ता पक्षका प्रमुख सचेतकहरुको बैठकले संसद्मा विचाराधिन विधेयकहरु छिटो पारित गरी कानूनी रुप दिने र आउने विधेयकलाई पनि छिटो पारित गर्नेगरी प्रक्रिया अघि बढाउने बारेमा छलफल भएको जनाए।
उनले विधेयक पारित गर्ने प्रक्रिया सुस्त भएकोप्रति आफूहरु पनि चिन्तित रहेको उल्लेख गर्दै अब तिब्रता दिने निर्णय भएको जानकारी दिए। उनले चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक र निजामति कर्मचारी विधेयकलाई पारित गर्नेगरी अघि बढ्ने निस्कर्षमा आफूहरु पुगेको जनाए। साथै अध्यादेश ६ गतेको बैठकमा प्रस्तुत गर्नेकुरा सरकारको तर्फबाट आएको भएपनि सांसदहरु संघीय राजधानी बाहिर गएकाले केही समय सार्न आग्रह गरेको र सोही अनुसार सरकार अगाडि बढ्ने घिमिरेले जनाए।