माेरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्थानीय तहसँग सहकार्य गरि काम गर्न सरकार तत्पर रहेको जनाएका छन्।
विराटनगरमा शनिबार कोशी प्रदेश सरकारको सातौं स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार हालसम्म पूर्वाधार निर्माणमा केन्द्रित रहँदै आएको भएपनि अब, मानवीय विकासमा केन्द्रित हुनेमा जोड दिए।
स्थानीय तहको सरकारसंगको सहकार्यमा जोड दिदैं उनले प्रदेशवासीको हितका लागि तीनै तहको सरकारका एक भएर काम गर्नुपर्नेमा जो दिए। त्यसैगरि कार्यक्रममा उनले पहिचानको क्षेत्रमा प्रदेश सरकारले जति कसैले पनि काम नगरेको दाबी गरे।
पहिचानको पक्षमा केन्द्रीय सरकारले भन्दा बढी काम गरेको बताउँदै उनले प्रदेश सरकारले पहिचानका विषयमा काम गरिरहदाँ समेत केही असन्तुष्टिहरू देखापरेको गुनासो गरे।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका कामहरूका विषयमा तथ्यपरक आलोचना गर्न र सुधारका लागि सुझावहरू दिन नागरिक समाजलाई आग्रह गरेका थिए। कार्यक्रममा प्रदेश सरकारले आन्तरिक राजस्व कार्यालय स्थापना गर्न लागि रहेको बताउँदै मुख्यमन्त्री कार्कीले कार्यालय स्थापनापछि सरकारको आन्तरिक आय बढ्ने विश्वास लिए।
त्यसैगरी, प्रदेशमा दरबन्दीको ५० प्रतिशत कर्मचारी मात्र काममा रहेको बताए। उनले बाँकी कर्मचारी पनि चाँडै प्रदेश लोकसेवा आयोग मार्फत परिपूर्ति गरिने प्रस्टाए। कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख अम्बरबहादुर विष्टलगायतले शुभकामना व्यक्त गरेका थिए।