काठमाडौं । भक्तपुर, चाँगुनारायण नगरपालिका-३ कोल्पाकोट ओरालोस्थित सडकमा व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ४६३७ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगरको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी, धरान उपमहानगरपालिका-१८ बुद्धचोकमा दुर्गाचोकबाट घोपा क्याम्पतर्फ जाँदै गरेको प्र.१-०२-००३ ह ८७२९ नम्बरको सिटी सफारीको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१६ बस्ने ५९ वर्षीय सुवास खड्काको शुक्रबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारा, महागढीमाई नगरपालिका-२ पत्रहट्टी मोडस्थित सडकमा ना.३ त २९४८ नम्बरको ट्याक्टरमा मधेश प्रदेश ०३-०२६ प १५२४ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका पुरूषको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।