काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालय स्थानीय पाठ्यक्रम अन्तर्गत नेपालभाषा विषय अध्यापनरत शिक्षकहरूको संयुक्त संगठन ‘नेपालभाषा स्यनामि दबू’ का पदाधिकारीहरूले नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यले एक कार्यक्रमको आयोजना गरी शपथ ग्रहण गराउनु भएको छ ।
टेकुमा रहेको नेवाः देय् दबूको कार्यालयमा सोमबार शपथ ग्रहण कार्यक्रममा देय् दबूका अध्यक्ष बज्राचार्य नयाँ पदाधिकारीहरूलाई खादा ओढाएर स्वागत गरेको थियो ।
नेवाः देय् दबूका विषयगत समिति अन्तर्गत माघ ६ गते नेपालभाषा स्यनामि दबू गठन भएको हो । शपथ ग्रहण पश्चात स्यनामि दबूका अध्यक्ष रितेश मल्लले नेवार शिक्षकहरूको हक, हितका लागि अग्रसर हुने धारणा राखे ।
उनले काठमाडौं महानगरपालिका साथै ललितपुर, कीर्तिपुर र तोखाका नेपालभाषा शिक्षकहरूसित निजी विद्यालयका नेपालभाषा शिक्षकहरूलाई पनि दबूमा समावेश गराउँदै जाने जानकारी गराए ।
नेवाः देय् दबूया केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्यले न्हूपुस्ताहरुलाई नेपाल भाषा, संस्कृति र सम्पदा सिकाउने सवालमा नेपालभाषा शिक्षकहरुको भूमिका र योगदान महत्वपूर्ण रहने जनाए ।
नेपालभाषा स्यनामिहरुले नेवाः अभियन्ता समेत भएर आजका बालबालिकाहरुलाई नेपालभाषा, कला, संस्कृति र सम्पदा विषय सिकाई दिनुपर्ने धारणा राखे । साथै उनले नेपालभाषा शिक्षकहरुको रोजगार सुरक्षाका लागि पनि ऐक्यवद्ध हुनुपर्नेमा जोड दिए ।
सो कार्यक्रममा नेवाः देय् दबूका महासचिव सत्यनारायण डंगोल, सचिव मचाराजा महर्जन व काठमाडौं जिल्ला समितिका बरिष्ठ कोषाध्यक्ष श्रीजनमान श्रेष्ठहरुको समेत सहभागिता रहेको थियो ।