काठमाडौं । सुनसरी, बराहक्षेत्र नगरपालिका-१ कोशीपुलस्थित सडकमा प्रदेश १-०२-००२ च ५४७९ नम्बरको पिकअप भ्यानले प्रदेश १-०२-०५१ प ४९९५ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक धनकुटा शहिदभुमी गाउँपालिका-१ त्रिवेणी बस्ने २५ वर्षीय सुमन राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा थप उपचारको क्रममा मृत्यु भएको हो । पिकअप भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोट, लिखु गाउँपालिका-५ अमिलबोटेस्थित सडकमा बा.प्र.०६००१ ज ०४३९ नम्बरको गाडी र बागमती प्रदेश ०२-०२३ प २४६४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार रसुवा उत्तरगया गाउँपालिका-५ बस्ने ३८ वर्षीय पुरूषोत्तम लामिछानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चिरायु नेश्नल अस्पताल बसुन्धारा काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।