काठमाडौं । नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु उचित नहुने जनाएका छन्।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले जनताको सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किन नैतिकताले नदिने बताएका हुन्।
उनले नेकपा (माओवादी केन्द्र) को बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन उपस्थित भएकोप्रति लक्षित गर्दै सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यत्ति, पुनः राजनीतिक पार्टीको बैठकमा उपस्थित हुनुले उदेकलाग्दो भएको जनाए।
उनले भने, ‘पूर्वराष्ट्रपति र उपराष्ट्रपति जनताको सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यक्ति हो। आमाबुबाको सपना मेरो छोरा राष्ट्रपति, उपराष्ट्रपति बनोस्, भन्ने हो। यो सपना देख्ने, त्यस्तो उच्च पदमा बसेको व्यक्तिहरु आज पार्टीको बैठकमा जाने, आज पार्टीको नेता बन्छु, अध्यक्ष बन्छु भनेर आउने। मलाई उदेक लाग्छ, के हो यो अध्यक्ष महोदय? राजनीति खुला रुपले गरेको हुन्थ्यो, पद कुनै पनि नलिएको भए हुन्थ्यो कि। एउटा नैतिकता हुनुपर्छ नि। नैतिक चरित्र नै गुमाएका छौँ।’