काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मुलुकमा दुई दलीय व्यवस्था सुरु गरेर एकात्मक शासन व्यवस्था सुरुवात गर्ने प्रयास भइरहेको टिप्पणी गरेका छन्।
आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै चौधरीले मुलुकमा एकात्मक शासन व्यवस्था लागू गर्ने प्रपञ्च रचिएको उल्लेख गर्दै उक्त जालो च्यात्न जरुरी रहेको बताए। यस्तो व्यवस्था स्वीकार्य नहुने उनले चेतानी दिए।
नयाँ शक्तिहरु लोकतन्त्रको गहना भएको उनका भनाइ छ।
उनले भने, ‘आजभोलि त दुई दलीय मात्र भन्छन्। दुई दलीय भन्नेलाई इतिहास के हो थाहै छैन। हामी त जान्छौँ। अमेरिकामा दुई दल मात्रै छन् त? भारतमा दुई दल मात्रै छन्? हामी त लोकतन्त्रका सुन्दर गहना हौँ। यिनीहरुले बोल्नै दिँदैनन्। अहिले हामी बोल्न जान्नेलाई हटाएर दुई दल मात्रै भन्दैछन्। साच्चिकै एकात्मक शासन व्यवस्थाको सुरुवात गर्ने प्रयत्न हुँदै छ। यो जालो च्यात्नुपर्छ।’