काठमाडौं । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ बस्ने ३१ वर्षीय बिक्रम लामा र मनहरी गाउँपालिका-२ बस्ने ६८ वर्षीय जिवन स्याङवो रहेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ आउँदै 2 गरेको बा.प्र.०३-००५ प ७२६६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६८ मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट र मोबाइल २ थान सहित सप्तरी कञ्चनरूप नगरपालिका-७ बरमझिया बस्ने २२ वर्षीय बिजय खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।