विश्वमा अहिले शक्तिराष्ट्रहरुको बलमिच्याइँ तीव्र देखिएको छ । त्यसको मारमा भने साना मुलुकहरु परेका छन् । चाहे त्यो रुस–युक्रेन युद्ध होस् वा इजरायल र हमास युद्ध या अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएका नयाँ करनीतिहरु वा चीनका रणनीतिहरु । यी सबैको चेपुवामा साना मुलुकहरु देखिएका हुन् । ट्रम्प राष्ट्रपतिमा आसीन भएयता क्यानडा, मेक्सिनी, ग्रीनल्यान्ड, पनामा नहर, चीन लगायतको विषयमा नयाँ नयाँ कर नीति लागूको घोषणा र अभिव्यक्ति दिँदै आएका छन् । यता चीनले पनि त्यसको विरुद्धमा अमेरिकी सानामा नयाँ करको घोषणा गर्न थालेको छ । दुई शक्तिशाली देशहरुको अघोषित व्यापार युद्धले साना मुलुकहरुमा असर पर्ने चिन्ता बढेको छ ।
क्यानडालाई लगातार होच्याउने काम गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानमा २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन् । ट्रम्पको हेपाहा व्यवहार र पछिल्लो अमेरिकी कदमसँगै क्यानडामा अमेरिका विरोधी राष्ट्रवादी लहरको उभार आएको फाइनान्सियल टाइम्सले जनाएको छ । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य भन्दै होच्याउदै आएका छन् । ट्रम्पले क्यानाडाबाट आउने आयातमा २५ प्रतिशत भन्सार महसुल थप्ने शुल्क घोषणा गरेका थिए । त्यसको जबाफ दिंदै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि अमेरिकाबाट आउने सामानमा २५ प्रतिशत सम्म भन्सार महसुल लगाउने घोषणा गरेका छन् ।
पानामा नहरलाई लिएर ट्रम्पको दबाबको बीचमा, पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले आफ्नो देशले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड (बीआरआई) को नवीकरण नगर्ने बताएका छन् । सन् २०१७ मा चीनको यो योजनासँग पनामा जोडिएको थियो । तर अब पनामाका राष्ट्रपतिको यो घोषणापछि पनामा चाँडै चीनको यो योजनाबाट बाहिरिने पक्का भएको छ । राष्ट्रपति मुलिनोले अब पनामाले पूर्वाधार परियोजनालगायत नयाँ लगानीमा अमेरिकासँग मिलेर काम गर्ने बताएका छन् । राष्ट्रपतिले आफ्नो सरकारले पानामा पोट्र्स कम्पनीको लेखापरीक्षण गर्ने बताएका हुन् । यो कम्पनी पानामा नहरका दुईवटा बन्दरगाह सञ्चालन गर्ने चिनियाँ कम्पनीसँग सम्बन्धित छ ।
अमेरिकाले चीनबाट आयात गरिने सामानहरूमा लगाएको थप शुल्कविरुद्ध बेइजिङ्गले जबाफी कदम चालेको छ । अमेरिकाबाट चीन आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत कर लगाउनेसहितका कदम रहेका छन् । चिनियाँ घोषणाअनुसार अमेरिकाबाट आयात हुने कच्चा तेल, कृषि औजार, पिकअप ट्रक र ठूला इन्जिन भएका कारमा चीनले १० प्रतिशत शुल्क लगाउने छ । चीनबाट अमेरिका आयात गरिने सामानमा नयाँ १० प्रतिशत शुल्क लगाउने डोनल्ड ट्रम्पको घोषणा कार्यान्वयनमा आएको केही घण्टापछि चीनले जबाफी कदम चालेको हो । यी दुवै देशले अन्य साना देशलाई आफ्नो प्रभावमा पार्ने प्रयास झनै बढ्ने छ । त्यसले विश्वलाई दुई ध्रुवमा विभाजन गर्ने र भौगोलिक तनाव बढ्ने निश्चित देखिएको छ । यसले सबल र दुर्बल जस्तोसुकै अर्थतन्त्र भएका मुलुकलाई पनि आर्थिक दबाब बढ्ने निश्चित छ । जनधारणा साप्ताहिक