काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा नेपाल प्रहरी विद्यालय सामाखुसीको २६ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह २०८१ सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा संघकी अध्यक्ष कुँवरले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू, वार्षिक रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक, प्रहरी कर्मचारीहरू, उत्कृष्ट विद्यार्थीहरूको समूह, उत्कृष्ट खेलाडी, उत्कृष्ट विद्यार्थी र पूर्व विद्यार्थीहरूलाई प्रशंसापत्र तथा पुरस्कार सहित सम्मान गर्नुभयो । साथै उहाँले विद्यालयका पूर्व प्राचार्यहरू, पूर्व समादेशकहरू र सहयोगी महानुभावहरूलाई सम्मान पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा उहाँले विद्यालयको वार्षिक मुखपत्र (दिप्तिका) को विमोचन गर्नुका साथै विद्यार्थीहरूबाट प्रदर्शित विभिन्न क्रियाकलापहरूको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा संघकी अध्यक्ष कुँवरले आजका विद्यार्थी भोलिको राष्ट्र निर्माणको कर्णधार भएको उल्लेख गर्दै अभिभावक र विद्यालयको निरन्तर सहकार्यमा विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानको साथसाथै व्यवहारिक सीप, आचरण र सामाजिक जिम्मेवारीमा समेत सक्षम बनाउनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ध्रुव राज राउतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य राम प्रसाद भुसाल, बुढानिलकण्ठ स्कुलका प्राचार्य केशर बहादुर खुलाल, विद्यालयका समादेशक प्रहरी निरीक्षक राजन प्रसाद काफ्ले र विद्यार्थी तथा अभिभावक प्रतिनिधिले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । 2 उक्त कार्यक्रममा विद्यालयका संरक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, नेपाल श्रीमती संघका पदाधिकारीहरू, आसरा सुधार केन्द्रका पदाधिकारीहरू, अभिभावकहरू, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।