काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल आफ्नो तेस्रो खेलमा पनि पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा घरेलु टोली नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो ।नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १२५ रन मात्र बनायो ।
नेपालका लागि कप्तान इन्दु बर्माले ३० र सम्झना खड्काले २३ रन बनाइन् । पूजा महतोले १८ र कविता जोशीले १४ रन बनाइन् ।नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङ, क्यारोलिन डे लाङगे र हेदर सिजर्सले २–२ विकेट लिइन् । यसअघि नेदरल्याण्ड्सले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १४० रन बनाएको थियो ।
टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सका लागि कप्तान बाबिटे डे लिडेले ४१ रन बनाइन् ।
नेपालका लागि सीता राना मगरले फाइफर लिइन् । उनले एकै ओभरमा ३ विकेटसमेत लिइन् । उनले १७.१, १७.३ र १७.५ ओभरमा ३ विकेट लिएकी थिइन् । साथै, १९.३ र १९.५ ओभरमा पनि विकेट लिइन् ।मनिषा उपाध्यायले २ तथा कविता जोशी र कप्तान इन्दु बर्माले १–१ विकेट लिइन् ।
यसअघि उद्घाटन खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । शनिबार भएको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पनि पराजित भएको थियो ।
सोमबार हुने खेलमा नेदरल्याण्ड्स र थाइल्याण्ड आमनेसामने हुनेछन् ।