काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलन सुरु गरेको छ ।
आन्दोलन अन्तर्गत आइतबार शिक्षकहरूले सामाजिक सञ्जाल फेसबुकमा हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाएका छन् ।
अध्यादेशमार्फत सरकारले शिक्षकलाई पनि सेवामा आधारित पेन्सनमा समावेश गरेपछि शिक्षकहरू आन्दोलित भएका हुन् ।
शिक्षक सरुवा निर्देशिकाको पनि विरोध गर्दै आएका शिक्षकले सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्न आन्दोलन सुरु गरेका हुन् ।
आन्दोलन अन्तर्गत पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र विद्यालयमा विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिसँग छलफल गर्ने निर्णय महासंघले गरेको छ ।
३० माघमा पालिका कार्यालयमा कालो पट्टी बाँधेर खबरदारी जुलुस प्रदर्शन गर्ने लगायतका आन्दोलनको घोषणा महासंघले गरेको छ ।
१६ र १७ माघमा बसेको महासंघको बैठकले आन्दोलन घोषणा गरेको थियो ।