काठमाडौँ / पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ नेपाल एपीएफ क्लब र पुरुषतर्फ नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् ।
पोखरा रंगशालामा शुक्रबार आयोजक टाइगर ग्रुप अफ पोखरालाई पराजित गर्दै एपीएफ क्लबले फाइनलमा स्थान पक्का गरेको हो । साविक विजेता एपीएफले आयोजक टोलीलाई ३–१ ले पराजित गर्यो । पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो । तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित निकाल्दै एपीएफले फाइनल यात्रा तय गर्यो ।
खेलमा टाइगर अफ द म्याच निरुता ठगुन्ना र स्पाइकर अफ द म्याच सरस्वती चौधरी बनिन् ।
पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइनल प्रवेशका लागि टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ फाइनल प्रवेश गर्ने क्रममा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्यो । आर्मी समूह चरण शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका थिए । पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२२ ले जितेको पुलिसले पुनः चौथो सेटमा २३–२५ ले हार बेहोर्यो । तर, पाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५–१२ जित निकाल्यो । आर्मीले अब शनिबार गण्डकी प्रदेशसँग दोस्रो क्वालिफायर खेल्नेछ ।
प्रतियोगितामा शुक्रबार एलिमिनेटरमा भारतको सुनील भलिबल क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो । गण्डकीले ३–१ को सेट जित हात पारेको थियो ।
पहिलो सेट गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन जित निकाल्दै दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्यो ।
गण्डकीले प्रतिस्पर्धात्मक पहिलो सेट ३१–३३ ले गुमाएको थियो । गण्डकीले १६–११ को अग्रतालाई जोगाउन नसक्दा पहिलो सेट गुमाउन पुग्यो । तर, दोस्रो, तेस्रो र चौथो सेटमा भने उत्कृष्ट पुनरागमन गर्न सफल भयो । गण्डकीले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–१६ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्यो । महिला र पुरुषतर्फ विजेताले समान ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो हुनेले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो हुनेले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।