काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने जनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालगायतका संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने जनाए ।
देउवाले संविधान प्रारम्भ भएको दश वर्ष भइसकेकाले संविधानको अभ्यासको समीक्षा गर्ने समय आएको जनाए ।
‘संविधान प्रारम्भ भएको दश वर्ष भइसकेको छ । दश वर्षको अन्तरालमा संविधानको अभ्यासको समीक्षा गर्ने भनिएकै छ,’ सभापति देउवाले भने, ‘संविधान कार्यान्वयनमा देखापरेका सबल र दुर्वल पक्षको अध्ययन र पहिचान गरी आवश्यकताअनुसार संविधान संशोधनको परिमार्जन गर्नुपर्दछ ।’
देउवाले राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने जनाए । संविधान संशोधनका विषयमा छलफल प्रारम्भ भइसकेको भन्दै अन्य राजनीतिक दलहरूसँग पनि संवाद, सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने जनाए।