काठमाडौं । साइबर सुरक्षा प्रवर्द्धनका लागि सरकारले स्थापना गरेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयका कम्प्युटर वा ल्यापटपमा कुनै पनि गेम इन्स्टल नगर्न सुझाव दिएको छ । केन्द्रले जारी गरेको साइबर सुरक्षासम्बन्धी एड्भाइजरीमा कर्मचारीहरूलाई कार्यालयका डिभाइसमा गेम इन्स्टल नगर्न र नखेल्न भनिएको हो ।
सूचना प्रविधि प्रणालीका प्रयोगकर्ताका लागि जारी गरिएको एड्भाइजरीको खण्ड ‘घ’ को बुँदा नम्बर ९ मा भनिएको छ, ‘कार्यालयका कम्प्युटर वा ल्यापटपमा कुनै पनि गेम इन्स्टल गर्न वा खेल्न नखोज्ने ।’ कतिपय कर्मचारीले कार्यालयहरूका कम्प्युटर र मोबाइलमै तास, लुँडोजस्ता खेल खेल्ने गरेको बेलाबेलामा गुनासो सुनिने गरेको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय कास्की, कोशी प्रदेशको भद्रपुर नगरपालिका लगायतले पनि कार्यालय समयमा कम्प्युटरमा खेल खेल्ने, गीत बजाउने, अनधिकृत वेबसाइटहरू प्रयोग नगर्न आचरण तथा अनुशासनसम्बन्धी सुझाव जारी गरेका थिए ।
साइबर सुरक्षा केन्द्रको एड्भाइजरीमा पाइरेटेड फिल्म, गीत, ई-बुक्स, सफ्टवेयर आदि डाउनलोड नगर्न पनि भनिएको छ । सरकारी सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन अपनाउनुपर्ने सावधानीको लामो सूची केन्द्रले तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यायलकै प्रणालीहरू इमेल फिसिङ आक्रमणदेखि सरकारको केन्द्रीय डेटा सेन्टरमा डी-डसजस्ता साइबर आक्रमणका घटना हुने गरेकोमा यसलाई न्यूनिकरण गर्न केन्द्रले कार्यालका डिभाइस चलाउँदा कर्मचारीहरूले गर्न हुने र नहुने विषयको सूची तयार पारेको हो ।