विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः सक्रिय हुने जनाएकी छन् । अहिले नै भने कुनै दलमा आवद्ध हुने निर्णयमा आफू नपुगेको उनको भनाइ छ ।
दलीय राजनीतिमा फर्कने र एमालेको अध्यक्ष बन्ने प्रयासमा रहे नरहेको भन्दै सञ्चारकर्मीले पटकपटक सोधेको प्रश्नमा भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः फर्कने जनाएकी हुन् ।
दलीय राजनीति राजनीतिकमा सक्रिय हुने अवस्थामा एमालेमै जानुपर्ने उनको भनाइ थियो । एमालेको भावी अध्यक्षको भूमिका आउन चाहनुभएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘जहाँसम्म दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन । भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ । भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ । तर, अहिले छलफल भएको छैन ।’
जनतामावि इटहरीको वार्षिक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनले विराटनगरमा सञ्चारकर्मीहरूसँग छलफल गरेकी हुन् । ‘विराटनगर मेरो पुरानो गृह जिल्ला पनि हो, राजनीति गरेको स्थान पनि हो। पुराना साथी र नयाँ पुस्तासँग पनि भेट हुने भएर म आएको हुँ । यहीक्रममा तपाईंहरूसँग पनि भेट्न मन लाग्यो,’ उनले भनिन् ।