काठमाडौं । ताप्लेजुङको पवित्रस्थल पाथिभरा क्षेत्र (मुक्कुकलुङ)मा भएको घटनाप्रति फोनिजको गम्भिर ध्यानाकर्षण भएको छ । यस्तो घटनाको फोनिज विरोध र भत्सर्ना गर्दछ ।
आदिवासी जनजातिहरुको भाषा, धर्म, जीवन, कला र संस्कृतिसँग जोडिएको पवित्रस्थल मुक्कमलुङमा नीजि क्षेत्रले बनाईरहको केवलकार निर्माणमा स्थानीय वासीले नो केवलकार भन्दै निरन्तर शान्पिूर्ण आन्दोलन र विरोध गर्दै आईरहेका छन् ।
विरोधकै बीचमा वार्ताबाट टुङ्ग्याईनुपर्ने विषयलाई अटेर गरि नीजि क्षेत्रले जबरजस्त निर्माणको कार्य थालनी गरेपछि स्थानीयले विरोध प्रदर्शन गर्न जाँदा प्रहरी प्रशासनले निर्मम रुपमा गोली प्रहार गर्नु, जबरजस्त गिरफ्तारी गर्नु मानव अधिकार विरोधी कार्य हो । शशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोलीले गरेको यस्तो निर्मम घटनाको फोनिज पूर्ण रुपमा विरोध गर्दछ ।
मुन्धुमी साँस्कृतिक एवं आध्यात्मिक आस्थाको क्षेत्र ताप्लेजुङ जिल्लाका मात्र नभई सिंगो प्रदेश नं. १ का आदिवासी जनजातिहरुको पवित्र भूमी पनि हो । लाखौं आदिवासी जनजातिहरुको जीवन र आस्था मुक्कुमलुङमा जोडिएको छ । त्यसमा केवलकार निर्माण गर्दा त्यसको महत्व घट्ने मात्र नभई आदिवासी जनजातिहरुको संस्कार, पहिचान, जीवन र अस्तित्वमाथी नै असर पुग्नेछ । त्यस कारण पनि त्यहाँ केवलकार निर्माण गर्नु हुँदैन भनी निरन्तर शान्तिपूर्ण आन्दोलन र विरोधको कार्यक्रमहरु हुँदै आएको हो । मानवजातीको अस्तित्व समाप्त पार्दै विनाश र विग्रह ल्याउने विकासको कुनै अर्थ छैन । वार्ता र प्रकृयागत रुपमा यो विषयलाई टुङ्ग्याइनु पर्दछ ।
घटनामा पान्थरका सगुन लावतीको छातीमा र धर्मान पालुङवाको कुममा गोलि लागेको छ । यस्तै मंगल लावतीको टाउकोमा गम्भिर चोट लागेको छ । गोली लागेर दर्जनौ अभियन्ता घाइते भएका छन् । विकासका नाममा कसैको कला, संस्कृती र पहिचानलाई नामेत पार्ने तथा दिन दहादै निर्मम रुपमा जनतामाथी गोली प्रहार गर्नु लोकतन्त्र र संविधान विरोधी कार्य हो । घाइते विरामीहरुको यथासिघ्र उपचारका लागि फोनिज सरकारसँग माग गर्दछ । साथै वार्ता र संवादबाट आन्दोलनकारीको माग सम्बोधन गरि केवलकार निर्माण कार्य अविलम्व बन्द गर्न फोनिज माग गर्दछ ।