काठमाडौं । ब्याट्रीबाट चल्ने विद्युतीय गाडी पेट्रोल र डिजेल इन्जिन भएका परम्परागत गाडीभन्दा टिकाउ र भरपर्दो भएको तथ्य बाहिर आएको छ । बर्मिङ्घम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको एक नयाँ अध्ययनले ईभी पेट्रोल वा डिजेलबाट चल्ने कारभन्दा बढी भरपर्दो भएको देखाएको हो ।
अनुसन्धानकर्ताले बेलायतका सडकमा गुड्ने लगभग ३० करोड गाडीको ‘स्वास्थ्य’ परीक्षणको तथ्याङ्कलाई विश्लेषण गरेका थिए । सन् २००५ देखि २०२२ सम्मको यातायात मन्त्रालय परीक्षणको तथ्याङ्क प्रयोग गरेर गाडीको आयु र विभिन्न पावरट्रेनको टिकाउ दरको विस्तृत विश्लेषण गरिएको थियो । यस तथ्याङ्कलाई विश्लेषण गर्दा सुरुवाती चरणका विद्युतीय गाडी पेट्रोल वा डिजेल गाडीभन्दा कम भरपर्दो र कम टिक्ने देखाएको छ । तर, पछिल्लो समयमा ईभीमा भएको तीव्र विकासले गर्दा नयाँ विद्युतीय गाडीको आयु आईसीई गाडीको जत्तिकै भएको पाइएको रिपोर्टमा उल्लेख छ ।
यस अध्ययनले विद्युतीय गाडीका ब्याट्री कम्तीमा २० वर्ष टिक्ने र सोचेभन्दा कम क्षमता गुमाउने देखाएको छ । यस अध्ययनमा बर्मिङ्घम विश्वविद्यालय, लन्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स (एलएसई), युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगो र स्विट्जरल्याण्डको युनिभर्सिटी अफ बर्नका अनुसन्धानकर्ता संलग्न थिए । उनीहरूले टेस्ला विद्युतीय गाडीको आयुको हिसाबले अग्रस्थानमा रहेको पत्ता लगाएका छन् । आईसीई गाडीमा भने अडी र स्कोडा उत्कृष्ट रहेको पाइएको छ ।
एलएसईका प्रोफेसर डा. भियत न्गुएन टियनले भने, “हाम्रो निष्कर्षले विद्युतीय गाडीको आयु र वातावरणीय प्रभावको बारेमा महत्त्वपूर्ण जानकारी दिन्छ । अब यो केवल एक सीमित विकल्प मात्र नभएर परम्परागत गाडीको लागि दिगो विकल्प बनेको छ ।”
बर्मिङ्घम विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक रोबर्ट इलियटले थपे, “विशेषगरी युरोपले नवीकरणीय ऊर्जामा जोड दिएको अवस्थामा विद्युतीय गाडीले वातावरणमा धेरै फाइदा पुर्याउँछ । उत्पादनको क्रममा उच्च उत्सर्जन भए तापनि, लामो समयसम्म टिक्ने विद्युतीय गाडीले कार्बन उत्सर्जनलाई चाँडै कम गर्न सक्छ र जलवायु परिवर्तनविरुद्ध लड्न सहयोग गर्न सक्छ । यसकारण यो दीर्घकालीन रूपमा दिगो विकल्प हो ।”
अध्ययनले उपभोक्ताहरूलाई गाडी खरिद गर्दा सही निर्णय लिन सहयोग गर्ने र नीति निर्माताहरूलाई वातावरणमैत्री गाडीको प्रयोगलाई बढावा दिन मद्दत गर्ने विश्वास गरिएको छ ।