काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद्को भेला आउँदो चैतमा आयोजना गर्ने निर्णय गरेको छ । आइतबार वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकले काठमाडौंमा संघीय परिषद्को भेला गर्ने निर्णय गरेको हो ।
बैठकले अध्यक्ष राईको राजनीतिक प्रविदेदन समेत सर्वसम्मत पारित गरेको पार्टी महासचिव मोहम्मद इस्तियाक राईले जनाए।
‘जनता समाजवादी पार्टीको दोस्रो बैठक आज सम्पन्न भएको छ । एउटा अध्यक्षज्युबाट समग्र विषयमा एउटा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रश्ताव र समसामयिक प्रश्तावहरु र संघीय परिषद्को भेला चैत महिनामा काठमाडौंमा आयोजना गर्ने प्रस्तावहरू पारित भएका छन् । सांगठनिक प्रतिवेदनमा खालि भएका विभागहरू र संरचनाहरूलाई पूर्णता दिने निर्णय समेत भएको छ,’ उनले भने ।
पार्टीको जिल्ला र प्रदेश कमिटिहरूलाई पूर्णता दिनेगरी सांगठनिक प्रतिवेदन समेत पारित गरेको पनि उनले जनाए। पार्टी संघीय परिषदको भेला आयोजना गर्नुभन्दा अगावै पार्टीलाई पूर्णता दिने निर्णय भएको महासचिव राईले जनाए।
‘हामीले संघीय परिषद्को भेला आयोजना हुनुभन्दा अगावै बाँकी रहेका जिल्ला र प्रदेश कमिटिहरु गठन गर्ने प्रश्ताव समेत पारित गरेका छौं,’ उनले भने, ‘साथै समसामयिक राजनीति र संविधान संशोधनका एजेण्डाहरुमा चर्चा र परिचर्चा भएको छ । मुख्यतः साना दलहरु एकीकृत रुपमा मिलेर अघि बढ्ने जुन विषय छ । यस विषयमा समेत छलफल भएको छ ।’
बैठकमा मधेसवादी दलहरू एकीकृत भएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको जनाए ।