काठमाडाैं । अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी माओवादीआबद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ ।
अनलाइन उम्मेदवारी दर्ता आह्वान गरिएकोमा अध्यक्षमा हेमन्त राई, विजयप्रकाश शर्मा सापकोटा, उपदेशकुमार यादव, सुदीन पौडेल, विश्वमणि थापा र योगन्द्रबहादुर बुढाले उम्मेदवारी दिएका हुन् । यस्तै, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्षसहित केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सबै पदमा उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारीउपर दाबीविरोधको छानबिन भइरहेको र सकिएपछि शुक्रबारभित्र अन्तिम नामावली प्रकाशन हुने आयोगका अध्यक्ष मुक्ति प्रधानले जनाएका छन् ।
क्रान्तिकारीको विधानअनुसार २४३ सदस्यीय केन्द्रीय कमिटीमा ३३ जना पदाधिकारी, ४८ सचिवलाय सदस्य र १६२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २३औँ राष्ट्रिय सम्मेलनका लागि १२ माघमा मतदान गर्ने कार्यक्रम छ ।