काठमाडौं । डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराइरहेको ई-सेवा लिमिटेड १५ वर्ष पूरा गरी आज (जनवरी २५) देखि १६औँ वर्षमा प्रवेश गरेको छ।
ई-सेवाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ: आफ्ना सेवाग्राहीको आर्थिक उत्थानका लागि म्युचुअल फन्ड तथा लगानीका विविध योजना पनि ल्याउने लक्ष्यमा दत्तचित्त भएर काम गरिरहेको छ- ई-सेवाले। अहिले मर्चेन्टलाई मात्र प्रदान गर्दै आएको इजिलोन योजना आगामी दिनमा आफ्ना सम्पूर्ण सेवाग्राहीका लागि उपलब्ध गराउने समेत ई-सेवाको लक्ष्य छ।
यस्तै एआई प्रयोग गरी ठगी र संदिग्ध गतिविधि पत्ता लगाउने प्रणाली लागू गर्ने बाटोमा पनि ई-सेवा लागेको विज्ञप्तिमा उल्लेख छ ।यसअन्तर्गत अत्याधुनिक प्रविधि प्रयोग गरेर ‘खर्च गर्ने’,‘बचत गर्ने’ र ‘आय वृद्धि गर्ने’ यात्रातर्फ अगाडि बढ्न चाहेको कम्पनीले जानकारी गराएको छ।
डेढ दशक अघिसम्म नेपालमा भुक्तानी गर्ने मुख्य माध्यम नगद मात्र थियो। बैंकमा सीमित वर्गको पहुँच, भौगोलिक विकटता र सुरक्षाका हिसाबले नगद कारोबार जोखिमयुक्त थियो। त्यस्तो अवस्थामा ‘डिजिटल वालेट’को सोच आफैँमा अनौठो र उत्तिकै चुनौतीपूर्ण थियो। भौगिलिक विविधताका कारण केही दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच नभएको र थुप्रै ठाउँमा बढ्दो चोरी तथा लुटपाटको डरजस्ता कारण नगद कारोबार पनि असहज थियो।
वित्तीय संस्थामा लामो लाइन लागेर गरिने आर्थिक गतिविधि आफैँमा अत्यासलाग्दो थियो। यहीबीच स्थापित ई-सेवाले ‘लाइनबाट अनलाइन’ भुक्तानी गर्ने प्रणालीको विकास गरेको विज्ञप्तिमा जनाइएको छ। हिमाल, पहाड र तराईमा गरी ७५३ क्षेत्रमा ई-सेवाले सेवा दिइरहेको छ।
सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरु गरेको ई-सेवा सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट थियो। तर, सन् २०१२ देखि ई-सेवा छुट्टै कम्पनीका रूपमा स्थापना भएको हो। यसै वर्ष ई-सेवाले एजेन्ट नेटवर्क पनि सुरु गरेको छ। ई-सेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर हो। अहिले बुद्ध एयरलगायत अन्य सबै एयरलाइन्सको टिकट ई-सेवामार्फत लिन सकिन्छ। सन् २०१३ मा ‘बेस्ट टेक्नोलोजी इनोभेसन अवार्ड’समेत प्राप्त गरेको ई-सेवाले सन् २०१७ मा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकका रूपमा इजाजतपत्र पाएको हो।
नेपालको जुनसुकै कुनामा बसेर पनि सजिलै आर्थिक व्यवहार गर्न सकिने ई-सेवाले इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, बिमालगायत २ हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, इजी लोन, इस्पिकर, मर्चेन्ट लिंक सुविधा दिइरहेको छ।
चार कर्मचारीबाट सुरु भएको कम्पनीले हाल ४ सय ५० भन्दा बढी व्यक्तिलाई रोजगारी दिइरहेको ई-सेवाले जनाएको छ। ई-सेवाले अहिले २ हजारभन्दा बढी सेवा दिइरहेको छ। ई-सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार छन्, यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पनि पठाउन सकिन्छ। ई-सेवाका २ लाख ६८ हजारभन्दा बढी एजेन्ट रहेका छन्।