काठमाडौं । भारतमा सम्पन्न प्रथम खो खो विश्वकप ऐतिहासिक रजत पदक जित्न सफल नेपाली पुरुष र महिला टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बधाई दिएको छ ।
पहिलो पटक आयोजना भएको खो खो विश्वकपमा भारतले पुरुष र महिला दुवैमा उपाधि जित्दा नेपाल दुवैमा उपविजेता बनेको थियो ।
राखेपले खो खोविश्वकपमा नेपाली खेलाडीहरुले हासिल गरेको सफलताका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक तथा नेपाल खो खो संघ प्रति पनि बधाई दिएको छ ।
नेपाली खो खो टिमले पहिलो पटक भएको विश्वकपमै सफलता प्राप्त गर्दा अहिले यो खेलको चर्चा बढेको छ ।
विगतमा पनि नेपाली खो खो टिमले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सफलताहरु हासिल गरेको छ ।
१२औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालको पुरुष तथा महिला खो खो टिम दोस्रो भएको थियो । यस्तै सन् २०१९ मा काठमाडौंमै भएको १३ औं सागमा भने नेपाली महिला टिमले रजत तथा पुरुष टिमले कांस्य जितेका थिए ।
यसैगरी पहिलो, दोस्रो तथा तेस्रो एशियन खो खो च्याम्पियनशिपमा नेपालको दुवै टिम तेस्रो भएका थिए भने चौथो एशियन खो खो च्यापियनशिपमा नेपालको दुवै खो खो टिम दोस्रो भएका थिए ।