काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ)ले जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। नेविसंघले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त खेलबारे जानकारी दिएको हो।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जलवायु परिवर्तनको मुद्दा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागेको प्रतियोगिता सोमबारदेखि सुरु हुने जानकारी दिए। उनका अनुसार ९ दिनसम्म चल्ने खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा नेपालबाट त्रिवि, केयू, मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालय, भारतबाट दिल्ली, लखनउ र बाबासाहेब भीमराव बिहार विश्वविद्यालय तथा बंगलादेशबाट ढाका विश्वविद्यालयले प्रतिस्पर्धा गर्नेछन्।
कुल ३० लाख पुरस्कार राशिमा विजेताले १५ लाख र उपविजेताले १० लाख पाउने छन्। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई ५ लाख पुरस्कार प्रदान गरिने उनले जानकारी दिए।