दार्चुला । जिल्लामा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका १ आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मंगलबार राति मृत्यु भएको हो ।
घरबाट दुई किलोमिटर दुरीमा रहेको शिति स्वास्थ्य चौकी पुग्नासाथ आमा र पेटको शिशुको मृत्यु भएको स्थानीय शिक्षक वीरेन्द्रसिंह धामीले बताउनुभयो । स्वास्थ्य चौकी पुर्याउदा उहाँलाई व्यथाले धेरै नै च्यापेको र पुग्नासाथ बेहोस भएकी थिइन। स्वास्थ्य चौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण समेत नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीले बताउनुभयो । मृतक द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन्।
दार्चुलाको अपिहिमाल गाउँपालिका दार्चुलाको एक मात्र सडक सञ्जाल र राष्ट्रिय प्रसारणको विद्युत् सेवा नपुगेको पालिका हो । गाउँसम्म यातायातको पहुँच नभएकै कारण स्थानीयबासिन्दाले अनेकौँ समस्या भोग्नुपरेको स्थानीय बालकुमारी बोहराले बताउनुभयो। सिकिस्त बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता छ ।