विराटनगर । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा स्टाटस लेखेपछि पार्टीका एक नेतालाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन परेका छन् ।
कोशी प्रदेशका पूर्वप्रदेश सभासदस्यसमेत रहेका एमालेका नेता विमल कार्कीलाई पार्टीले निलम्बन गरिएकाे हाे ।
उनले अध्यक्ष ओली र पार्टीको हितविपरीत कार्य गरेकाले कारवाही गरिएको एमाले कोशी प्रदेश कमिटीले जनाएको छ। कार्कीलाई ६ महिनाको लागि सबै जिम्मेवारीबाट बाहिर गरिएको हो।
उदयपुरका नेता कार्कीलाई पुष २७ गतेको प्रदेश कमिटी बैठकबाट निलम्बन गर्ने निर्णय भएको कमिटी अध्यक्ष खतिवडाले जानकारी दिए।
उनल जनाए अनुसार पार्टीले कार्कीले सामाजिक सञ्जालमा अध्यक्ष र पार्टीकोविरुद्धमा दिइएका अभिब्यक्तिबारे मंसिर १६ गते तीन दिनभित्र जवाफ पेश गर्ने गरी स्पष्टीकरण सोधेको थियो।
यता, कार्कीले भने प्रदेश कमिटीबाट सोधिएको स्पष्टीकरणको जवाफ दिइएको तीन दिनको समयपछि बुझाएका थिए। सो क्रममा कार्कीको जवाफ चित्तबुझ्दो नभएको जनाउँदै कमिटीले कार्वाहीको निर्णय गरेको खतिवडाले जानकारी दिए।
पार्टी अध्यक्षको नागरिकताको विषय, ब्यवसायी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय निर्माण र जग्गा उपलब्ध भएको विषयमा कार्कीले सामाजिक सञ्जालमा धारणा लेखेका थिए। प्रदेश कमिटीले गरेको कार्वाहीबारे आफूलाई कुनै जानकारी नभएको कार्की बताउँछन्।
एमालेमा पार्टी अध्यक्ष ओलीको विपक्षमा धारणा राख्नेमाथि कार्वाहीको क्रम बढ्दै गएको छ। यसअघि, पार्टी अध्यक्ष र कार्यालयको विषयमा असन्तुष्टि ब्यक्त गर्दै आएका डा. भीम रावललाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिसकेको छ।
त्यसैगरी, विन्दा पाण्डे र उषा किरण तिम्सिनालाई पार्टीलाई पार्टी कार्यालयको विषयमा अभिब्यक्ती दिएसँगै ६ महिनाको कारवाही गरेको छ।