एजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्।
बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ।
युनलाई पक्राउ गर्न सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीहरू बुधबार बिहान उनको निवासमा पुगेका थिए।
उनी दोस्रो पटकको प्रयत्नपछि पक्राउ परेका हुन्।
दक्षिण कोरियाको अखबार योनहाप न्युजले पनि युन पक्राउ परेको पुष्टी गरेको छ।
बुधबार उनलाई पक्राउ गर्न गएका सुरक्षाकर्मीसहितका अधिकारीहरूलाई युनका समर्थकहरूले रोक्ने प्रयन्त गरेका थिए।
ठूलो संख्यामा युनको घरनजिक उपस्थित भएका समर्थकहरूले ब्यारिकेड राखेर सुरक्षाकर्मी र पक्राउ अधिकारीहरूलाई रोक्ने प्रयत्न गरेपनि अनुसन्धानकर्ताहरु युनको घरबाहिरको अवरोध छिचोलेर कम्पाउन्डमा प्रवेश गरेको भनेर बिबिसीले लेखेको छ।
यसअघि पुस १९ गते युनलाई पक्राउ गर्न अनुसन्धानकर्ताहरू सउलस्थित उनको निवासमा पुगेका थिए। त्यतिबेला ठूलो संख्यमा युनका समर्थकहरूले र युनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले अवरोध गरेपछि अनुसन्धानकर्ताहरू रित्तो हात फर्किएका थिए।
सैनिक कानुन लागू गर्ने प्रयास संसदले विफल पारेपछि युन निलम्बित छन्। सैनिक कानुन ल्याएपछि उनीविरूद्ध संसदमा दर्ता भएको महाभियोग पारित भएको थियो। महाभियोगको प्रक्रिया संवैधानिक अदालतबाट टुंगिन बाँकी छ।
उनीविरूद्ध उच्चस्तरीय व्यक्तित्वहरूमाथि छानबिन गर्न बनेको भ्रष्टाचार अनुसन्धान कार्यालयले पश्चिमी सउल जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।
सोधपुछका लागि पटकपटक बोलाउँदा युन उपस्थित नभएपछि उनीविरूद्ध पक्राउ पुर्जी नै जारी भएको हो।
अदालतले उनको कार्यालयमा सर्च गर्न पनि अनुमति दिएको थियो। दक्षिण कोरियामा राष्ट्रपति पक्राउ परेको यो पहिलो घटना हो।