काठमाडौं । भारतमा जारी खो–खो विश्वकपमा नेपाली राष्ट्रिय महिला टिमले विजयी सुरुआत गरेको छ ।
मंगलबार भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टिमले भुटानविरुद्ध ९३–२४ को सहज जित निकालेको हो । विश्वकपमा नेपाली महिला टिम समूह ‘सी’ मा छ । यो समूहमा नेपालसँगै भुटान, श्रीलंका, जर्मनी र बंगलादेश छन् ।
नेपालले अब दोस्रो खेलमा आजै जर्मनीसँग खेल्ने तालिका छ । यी दुई टिमबीचको खेल आज नेपाली समयअनुसार ४ः१५ बजेदेखि सुरु भइसकेकाे छ ।
प्रतियोगितामा नेपाली पुरुष टिम पनि सहभागिता जनाएकाे छ । पुरुष टिम भने सोमबार भएको पहिलो खेलमा भारतसँग ४२–३७ ले पराजित भएको थियो । पुरुष टिमले आज नै ६ः४५ बजे पेरुसँग खेल्ने तालिका छ ।