काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
शनिबार पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष थापाले विचार, सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्ने पनि बताएका हुन्।
थापाले राष्ट्रनिर्माताले राष्ट्रिय एकीकरण गर्नुको साथसाथै राज्यका सञ्चालनको निमित्त आर्थिक, सामाजिक, कूटनैतिक विषयमा जुन महत्त्वपूर्ण मार्गदर्शन अहिले पनि सान्दर्भिक रहेको उल्लेख गरे। उनले नेपाली नाम र पहिचान दिनुभएको भन्दै राष्ट्रनिर्माताप्रति कृतज्ञता व्यक्त गरे।
उनले भने, ‘राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रनिर्माताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। हामीलाई नेपाली नाम र पहिचान दिनुभएकोमा राष्ट्रनिर्माताप्रति कृतज्ञता समेत व्यक्त गर्न चाहन्छु। राष्ट्रनिर्माताले राष्ट्रिय एकीकरण गर्नुको साथसाथै राज्यका सञ्चालनको निमित्त आर्थिक, सामाजिक, कूटनैतिक विषयमा जुन महत्त्वपूर्ण मार्गदर्शन अहिले पनि सान्दर्भिक छ। हामी सबैले चिन्तन, मनन गर्नुपर्छ। एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गरेर छोड्छु।’