काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ अध्ययन संस्थानले स्नातकोत्तर तहका नेटवर्क तथा साइवर सेक्युरिटी कोर्समा नयाँ विकल्पहरू अघि सारेको छ । संस्थानले स्नातकोत्तर तहको एमएसस्सी कम्प्युटर इन्जिनियरिङ स्पेशलाइजेशन इन नेटवर्क एन्ड साइबर सेक्युरिटी कार्यक्रममा दुई विकल्प अघि सारेको हो ।
संस्थानले २०८० को ब्याचदेखि नै लागू हुने गरी पहिलो पटक यस्तो विकल्प समेत दिने निर्णय गरेको बताए । साथै उक्त कार्यक्रममा २० जनाको भर्ना क्षमतालाई बढाएर २४ सिट कायम गरेको छ । भर्ना हुनेहरूमध्ये कम्तीमा एक जनाले टिचिङ असिस्टेन्ट (टिए), रिसर्च असिस्टेन्ट (आरए) भई विभागमा अध्यापन तथा अनुसन्धान गर्न पाउने उनले जनाए ।
अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा कोर्समा आधारित उपाधि र टीए, आरए जस्तो छात्रवृत्ति प्रदान गर्दै आएका छन् । पछिल्लो समय उच्च शिक्षाको अध्ययनका लागि विदेश जाने दर बढ्दै गएको र नेपालकै विश्वविद्यालयबाट यस्तो अवसर प्रदान गरिएपछि विद्यार्थीहरूलाई सहज हुने उद्देश्यका साथ यस्तो निर्णय गरिएको संस्थानका डीन प्राडा सुशील बहादुर बज्राचार्यले जनाए।
यो निर्णयसँगै उक्त कार्यक्रममा विद्यार्थीहरूले अन्तिम सेमेस्टरमा थेसिस लिने कि कोर्स लिने भनेर अघिल्लो सेमेस्टरमै रोज्न पाउनेछन् । कोर्स लिने विद्यार्थीहरूले थेसिसको सट्टा सेमिनार, भोलेन्टियर एसिसमेन्ट एन्ड पेनेट्रेशन टेष्टिङ, साइबर थ्रेट इन्टेलिजेन्स र इन्ड्रष्टियल प्रोजेक्ट जस्ता कोर्सहरू पढ्न सक्ने उक्त कार्यक्रमका संयोजक डाक्टर बाबुराम दवाडीले बताए । यस्तो नीतिगत निर्णयसँगै आगामी वर्षहरूमा अन्य कार्यक्रमहरूमा पनि आवश्यक रहेको कोर्समा आधारित विकल्प खोज्दै जाने नीति रहेको डीन बज्राचार्यले बताए ।
संस्थानले आगामी वर्ष २०८२ को स्नातकोत्तर तहका लागि नयाँ भर्ना प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि प्रवेश परीक्षाका लागि माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सकिने संस्थानले जनाएको छ । प्रवेश परीक्षा माघ २५ गतेदेखि हुने संस्थानले जनाएको छ ।